Home | NepalNews | Sports | WorldNews | Archive | Diaspora | Literature | Broadband | Awareness | Solutions | Careers | Feedback | Contact
 
MY VIEW
     
 
नेपालमा 'हार्डलाइन डेमोक्रेसी' चाहिन्छ ..................विदेशीको आँखामा ओरालो लाग्यो नेपाल
 
         
 

14-SEP-2009
enepalionline.com |MY VIEW|


नेपालमा 'हार्डलाइन डेमोक्रेसी' चाहिन्छ
विदेशीको आँखामा ओरालो लाग्यो नेपाल

anil

अनिल पाण्डे, क्यालिर्फोनिया


नेपालमा पशुपतिनाथको पुजारी भारतीय हुनुपर्छ कि नेपाली भन्ने विवाद सेलाउन पाएको छैन । सामान्यतः नेपालमा विदेशी पुजारी हुनु राष्ट्रियताका दृष्टिकोणले हाम्रालागि प्रिय हुन सक्तैन । यद्यपि भारतका धेरै मठ-मन्दिरमा नेपाली पुजारी रहेको र नेपालमा पनि भारतीय पुजारी रहनुले दुवै मुलुकबीच जनस्तरको सम्बन्ध प्रमाणित हुने कुरा पनि बाहिर ल्याइएको छ । नेपाल र भारतबीचको धर्म-सँस्कृतिमा रहेको समानताले राजनीतिक पक्ष पनि प्रभावित हुने गरेको छ । धर्मका विषयमा राजनीतिक व्यक्तिहरुले कति बोल्ने वा नबोल्ने भन्ने सवाल नै आजको संवेदनशील पक्ष हो ।

 
   
"पशुनाथका पुजारी को हुने भन्ने सम्बन्धमा नयाँ दिल्लीको राजनीतिक नेतृत्व विज्ञप्ति निकाल्छ र काठमाडौमा रहेका भारतीय राजदूत निर्देशनात्मक बोली बोल्छन्, यो नै हाम्रालागि आपत्तिको विषय हो"
   
 

धर्म-सँस्कृति-परम्परामा धार्मिक तथा साँस्कृतिक व्यक्तिहरुबाटै आवाज उठेमा स्वाभाविक हुने थियो, तर पशुनाथका पुजारी को हुने भन्ने सम्बन्धमा नयाँ दिल्लीको राजनीतिक नेतृत्व विज्ञप्ति निकाल्छ र काठमाडौमा रहेका भारतीय राजदूत निर्देशनात्मक बोली बोल्छन्, यो नै हाम्रालागि आपत्तिको विषय हो । हामी नेपालीमा छिमेकी भारतले हेपिरहेको र पक्षपात गरेको जुन मनोविज्ञान छ त्यसलाई मलजल गर्ने काम भारतीय राजनीतिक नेतृत्वले नै गरेको छ । नयाँदिल्लीको यस मनस्थितिलाई नेपाली नागरिकले मात्र होइन सात समुद्रपारिका पर्यटकहरुले पनि महसुस गरिरहेका छन् । त्यसको एक चोटिलो उदाहरण यहाँ प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

एक जना मेरा अमेरिकी मित्र हालै मात्र नेपालको चौथो पटक भ्रमण पूरा गरी स्वदेश फर्केका छन् । विगत १० वर्षमा चार-चार पटक उनी किन नेपाल गए, के आकर्षण देखे नेपालमा भन्ने पक्ष आफैमा रोचक छ । नेपालका पहाड र हिमालका पारखी उनका लागि त्यसको जनजीवन र सामाजिक स्वरुप पनि उत्तिकै आकर्षक छ । तर उनको विचारमा नेपालप्रति १० वर्षअघि जुन आकर्षण कायम थियो, मौलिकता र 'साँग्रिला' कायम थियो, आज छैन । उनी नेपालले प्रगति होइन, ओरालो लाग्ने यात्रा प्रारम्भ गरेको निष्कर्ष निकाल्छन् । नेपालमा आएको परिवर्तनलाई उनी यसरी सूत्रबद्ध गर्दछन्-

            • शहर बाक्लिएछ, भवन निर्माणमा मौलिकता हराएछ ।
          • छिमेकी भारतका राजनीतिक नेताको शैली नेपाली नेताहरुले सिकेछन् ।
          • नेपालको भ्रमण गरिरहँदा भारतकै कुनै खण्डमा पो छु कि जस्तो लाग्दो रहेछ ।
          • नेपालमा लोकतन्त्र त आएछ तर त्यसभित्र पूर्णतः भारतीय आत्मा सवार भएको रहेछ ।
          • असली नेपाली पलायन हुने प्रवृक्ति बढेछ ।
          • नेपालको अर्थतन्त्र भारतीय मूलका व्यापारीको हातमा पुगेछ । ठूला उद्यमी तथा व्यापारी भारतीय वा भारतीय मूलका व्यक्ति नै रहेछन् ।
 
"मकै खोर्सानीआदि बार्दलीमा झुण्डिएको, नजिकै केराबारी वा तुलफूलयुक्त बगैंचाको स्मरण गर्छन् । घरअगाडि आँगनमा कछाड बाँधेका ज्वारिकोट लगाएका दाइ र चोलो-फरियामा सजिएकी अनि बुलाकी लगाएकी दिदी देखिइन् भने नेपाली बस्ती भनेर टक्रक्कै छुटि्टन्छ । "

मेरा विदेशी मित्रको यो अनुभव हाम्रालागि निकै गम्भीर छ । खासगरी नेपाललाई चिन्ने विदशीहरु एक त यहाँका हिमालय र पर्वत श्रृंखला वा खरले छाएका अनि भित्तामा रातो माटो वा सेतो कमेरोले पोतेको, मकै खोर्सानीआदि बार्दलीमा झुण्डिएको, नजिकै केराबारी वा तुलफूलयुक्त बगैंचाको स्मरण गर्छन् । घरअगाडि आँगनमा कछाड बाँधेका ज्वारिकोट लगाएका दाइ र चोलो-फरियामा सजिएकी अनि बुलाकी लगाएकी दिदी देखिइन् भने नेपाली बस्ती भनेर टक्रक्कै छुटि्टन्छ । तर नेपालमा आधुनिकताले वास्तुशैलीमा पनि आक्रमण गरिसकेको छ । रड-सिमेन्ट-कंक्रिटकै घर बनाएपनि बाहिरबाट हेर्दा मात्र पनि नेपाली परम्परागत शैली झल्किने शैली अपनाउन सकिन्थ्यो । सरकारसँग कुनै आवास निर्मात तथा वास्तुनीति नभएका कारण नेपालका वस्तीहरुले मौलिकता गुमाइसकेका छन् ।

नेपार-भारतबीच खुला सिमाना त छ नै साथमा धेरै विषयहरुमा सीमा छैन । स्थल मार्ग मात्र होइन आधुनिक सञ्चारका हरेक माध्यम खुला छन् । भारतीय शैली नेपालका लागि इच्छा वा अनिच्छापूर्वक प्रेरक बनेका छन् । भारतीय सिनेमा, पत्रकारिता, विवाहलगायतका सामाजिक रीति-स्थिति, धर्म-सँस्कृतिको मान्यता नेपालीका लागि उदाहरण बन्छन् । भारतीय सिनेमा हेरेर नेपाली सिनेमा बन्छन् किनभने दर्शकको बानी भारतीय सिनेमाले बनाइदिने गरेको छ । दर्शकको बानीअनुसार चलचित्र बनाउँदा नेपाली निर्माताले पनि भारतीय सिनेमाको मसला हाल्नुपर्ने हुन्छ । छिमेकीको प्रभाव सहनु हाम्रो परिस्थितिजन्य आवश्यकता हुन आएको छ । स्वास्थ्य चेतनामा पनि भारतीय प्रभाव पाइन्छ । नेपालमा आज जतिले कपालभाती, अनुलोमविलोम र भ्रामरीलगायतका योगका विधिहरुको अभ्यास गरिरहेका छन् त्यसमा भारतीय साधु रामदेवको प्रभाव छैन र ? यसको अर्थ सबै प्रभाव खराब मात्र पनि छैनन् ।

 
"खासगरी युवा पुस्ता मुलुक छोडेर विदेश जाने र भारतीय नागरिकले नेपालमा आएर त्यो संख्या प्रतिस्थापन गर्ने प्रवृत्तिको विकास भएको मित्रको विश्लेषण छ । ८० लाख विहारी वा भारतीय नागरिक नेपालमा विभिन्न रुपमा प्रवेश गरिसकेको विभिन्न स्रोतको तथ्याङ्क निजले पाएका छन् ।
"

नेपाल भूगोलका कारणले मात्र भिन्न देश भएर पुग्दैन, यो जहाँबाट र जसरी हेर्दा पनि नेपाल हुनुपर्छ । नेपालमा भारु चल्ने र जहाँ पनि जान्ने-नजान्ने सबैले हिन्दी बोल्ने, ट्रकदेखि साइकलसम्म भारतीय उत्पादन मात्र देखिने कारणले पनि नेपाल मौलिक देखिन सकिरहेको छैन । 'भारतमा थोत्रिसकेका सबारीसाधन नेपालमा आउँदा रहेछन् जसले प्रदूषण बढाएका छन्,' पर्यटक मित्रले टिप्पणी गरेका छन् । यो गम्भीर विषय हो ।

पैसा तिरेर सांसद वा जनप्रतिनिधिको खरीद-बिक्री गर्ने र दलभित्र अपराधीकरण अनि आपराधिक समूहका बाहिर राजनीतिक दलको पहिरन लगाउन नेपालले भारतबाटै सिकेछ भन्ने टिप्पणी पर्यटक मित्रको छ । उनको यस टिप्पणीले पनि पङ्क्तिकारलाई मर्माहत बनाएको छ ।

खासगरी युवा पुस्ता मुलुक छोडेर विदेश जाने र भारतीय नागरिकले नेपालमा आएर त्यो संख्या प्रतिस्थापन गर्ने प्रवृत्तिको विकास भएको मित्रको विश्लेषण छ । ८० लाख विहारी वा भारतीय नागरिक नेपालमा विभिन्न रुपमा प्रवेश गरिसकेको विभिन्न स्रोतको तथ्याङ्क निजले पाएका छन् ।

 
"नेपालमा हिन्दीमा शपथग्रहण गर्ने व्यक्तिलाई किन उपराष्ट्रपति बनाएर पालेर राखिन्छ, छक्क लाग्छ- उनी भन्छन् । अमेरिकामा कुनै पनि राष्ट्रपतिले फ्रेन्च वा स्पेनी भाषामा शपथ गर्दैनन् । "
 

भारतले नेपाललाई हात पारिसकेको छ, कति मात्र भने त्यसको औपचारिक घोषणा मात्र हुन बाँकी छ । नेपालमा हिन्दीमा शपथग्रहण गर्ने व्यक्तिलाई किन उपराष्ट्रपति बनाएर पालेर राखिन्छ, छक्क लाग्छ- उनी भन्छन् । अमेरिकामा कुनै पनि राष्ट्रपतिले फ्रेन्च वा स्पेनी भाषामा शपथ गर्दैनन् । उपराष्ट्रपति परमानन्द झाको पराधीन मानसिकताले आकाश छोइरहेका बेला मेरा अमेरिकी मित्र नेपालमै थिए । उनलाई झाको राष्ट्रघाती चरित्र देखेर असीम निराशा भएको उनले खुलासा गरे ।

उनका विचारमा अब नेपालको समुन्नतिका लागि खुला लोकतन्त्र होइन निर्देशात्मक प्रजातन्त्र चाहिन्छ । उनी भन्छन्- नेपालमा 'हार्डलाइन डेमोक्रेसी' चाहिन्छ, त्यसले मात्र नेपाललाई उन्नतिको पथमा अघि बढाउन सक्छ ।

     

 


अनिल पाण्डे, क्यालिर्फोनिया

Server Update Time: -14-09-2009 |09: 00 AM - GMT +4:00

All Rights Reserved © 2007 E-nepali News Network
Site Best viewed with 1024X768 pixels & IE 6+ | FireFox 2+

Site has been visited : stimes since Jan 2007.